Friday, September 9, 2016

सधैँ सधैँ उडीरह्यो गीत

गीतम्

-पञ्चचामर
सधैँ सधैँ उडीरह्यो उडीरह्यो कता कता ।
हवा अजस्र चल्दछन्, र जिन्दगी छ बेपता ।।

गुरुत्व छैन तैपनि सधैँ व्यथा भरेपनि ।
उडीरह्यो यताउती छ लक्ष्यहीन जीवनी ।।
कि कस्तुरी सुगन्धमा बढिरह्यो अधीरता ।
न लक्ष्य भेटियो सखी मिलीरह्यो निरर्थता ।।
सधैँ सधैँ उडीरह्यो...........................

फुली सुगन्ध छर्नुमा सुकेर साँझ झर्नुमा ।
व्यथा छ पुष्पको यही रसै नपाई मर्नुमा ।।
मनुष्य, जीव, दानव, छ रक्ष यक्ष देवता ।
म देख्न सक्दथेँ कहाँ अनेकमाझ एकता ।।
सधैँ सधैँ उडीरह्यो.................................

सयौँ हजार घुम्दछन्, हरेस खान्न की रवि ।
बुटा भरेर हेर्दछन् कि जिन्दगी अझै कवि ।।
मशानघाट मौन छन्, म देख्छु मात्र सन्नटा ।
म सोध्दथेँ चितासँग छ जिन्दगी कहाँ बता ।।
सधैँ सधैँ उडीरह्यो..........................